Logo

बिहिवार, कार्तिक १३ गते २०८३

‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

  • समाचार
  • भाद्र २२, २०८२ आइतवार १९:२३ बजे
  • 472
    SHARES
  • ‘राज्यले सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नुले सुशासन कायम नभएको सङ्केत गर्छ’

    कर्णाली, २२ भदौः राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन नसक्नु भनेको सार्वजनिक निकायमा सुशासन कायम गर्न नसकेकोतर्फ सङ्केत गर्ने सरोकार भएकाहरूले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोहमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर सबैले काम गरेमा सर्वोत्कृष्ट कर्मचारी प्रशस्त भेटिनेमा जोड दिएका हुन् ।

    सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले करिब एक दशकसम्म सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुःखद् विषय भएको बताउनुभयो । विसं २०७३ पछि राज्यले सर्वोत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गर्न नसकेको जनाउँदै “के राज्यमा सर्वोत्कृष्ट पुरस्कार दिन लायकका कर्मचारी छैनन ?”, उहाँले प्रश्न गर्नुभयो । उहाँले सरकारले मुलुकमा सकारात्मक काम गर्ने कर्मचारी खोजेर पुरस्कृत गर्ने र गलब गर्नेलाई दण्डित गर्ने संस्कृति र पद्दतिको विकास गरेमा सुशासन कायम हुने धारणा राख्नुभयो ।

    यसका लागि सबै सरोकार भएकाहरूले पदीय जिम्मेवारीअनुसार पारदर्शी रूपमा कार्यसम्पादन गर्नुपर्नेमा न्यायाधीश ढकालले जोड दिनुभयो । कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षामुखी काम गर्न सकेमात्र जनताको जीवनस्तरमा सुधार आउने धारणा राख्नुभयो । जनताको जीवनमा सकारात्मक परिवर्तन हुँदै भएमा राज्यप्रति विश्वास बढ्दै जाने उहाँले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सेवा प्रभावबाट सुशासन कायम गरी जनताको मुहारमा खुसी ल्याउनसक्ने अवस्थाले ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले मुलुकको विकास, समृद्धि र उन्नतिका लागि राजनीति र प्रशासनबीच मित्रताको सम्बन्ध स्थापित हुनुपनमा जोड दिनुभयो ।

    प्रजिअ उपाध्यायले भन्नुभयो, “स्थायी सरकार र राजनीतिज्ञबीच सुमधुर सम्बन्ध हुन जरुरी छ । दुवै पक्षबीचको सम्बन्ध, सहकार्य र समन्वयमा सुशासनसहित पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा ऊर्जा प्राप्त हुन्छ ।”

    आजै प्रमुख जिल्ला अधिकारीसहित ३४ जनाले रक्तदान गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आज भानुपार्कको उत्तरमा रहेको पुरातात्विकस्थलमा ५२ वटा पारिजातका बिरुवा रोपिएको छ ।

    त्यस्तै, दिवसका अवसरमा कार्यालय प्रमुखद्वारा रकम सङ्कलन गरी मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रम सुर्खेतमा खाद्यान्न वितरण गरिएको छ ।

    त्यसैगरी, नेपाल निजामती कर्मचारी युनियनले प्रशान्ति वृद्धाश्रम र नेपाल निजामती कर्मचारी सङ्गठनले मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएको प्रशासकीय अधिकृत पौडेलले जनाउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend