Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

  • समाचार
  • आश्विन ६, २०८२ सोमवार १५:५० बजे
  • 721
    SHARES
  • राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

    दोधारा चाँदनी (कञ्चनपुर), ६ असोजः दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् ।

    राउटेका अनुसार उनीहरुले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको उल्लेख गर्दै दसैँमा भत्ता नआउँदा दुःख लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का बडसिंह राउटेले बताउनुभयो ।

    “पहिले समयमै भत्ता आउँथ्यो तर अहिले दसैँ सुरु हुँदा पनि भत्ता आएन”, उहाँले भन्नुभयो । समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरूलाई खाद्यान्न, नुन, तेललगायत किन्न समस्या भएको उहाँको भनाइ छ ।

    “हामी बूढाबूढीको रु २४ हजार भत्ता आउथ्यो त्यसै खर्चले हामीले पनि चाडपर्व मनाउथ्याँै”, राउटेले भन्नुभयो, “जङ्गलबाट सरकारले गाउँमा ल्यायो, काठका सामग्री बनाउन पनि काठ नपाउने अवस्था छ ।”

    जङ्गलका कन्दमूल खाने र काठबाट भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्ने भए पनि बस्तीमा बस्दा छेउछाउका सामुदायिक वनबाट काठ ल्याउन नपाइने हुँदा काठको भाँडाकँुडा बनाउन पनि समस्या हुने गरेकोे किरीदेवी राउटेले बताउनुभयो ।

    “यहाँ भत्ताबाहेक अन्य केही रोजगारी छैन, एउटा छोरो कमाउनका लागि भारत गएको छ”, उहाँले भन्नुभयो, “नौ महिना भारतमा मजदुरी गर्छ तीन महिना घरमा बस्छ त्यसैले गुजारा चलेको छ ।”

    आफूहरुको जीविकोपार्जन भत्ताको भरमा परिवार चल्ने गरेको उल्लेख गर्दै अनिता राउटेले भन्नुभयो, “गाउँघरमा ज्यालामजदूरी गर्न पनि पाइँदैन, बस्तीमा टहरा मात्रै छ कमाइ खान जग्गा छैन ।”

    भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले यस वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरणको समय एक महिना थप गरेकाले सामाजिक सुरक्षा भत्ता दिन नसकिएको बताउनुभयो ।

    “पहिला भदौ मसान्तभित्र नवीकरण हुन्थो, दसैँ अगाडि भत्ता वितरण आउँथो”, उहाँले भन्नुभयो, “असोज मसान्तसम्म नवीकरणको समय भएकाले भत्ता दिन नसकिएको हो ।” उहाँका अनुसार उक्त वडामा २० जना राउटेले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । लोपोन्मुख राउटे समुदायका परिवारका सबै सदस्यले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend