Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

  • समाचार
  • आश्विन ७, २०८२ मंगलवार ०७:४० बजे
  • 406
    SHARES
  • वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज (पर्सा), ७ असोजः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।

    गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

    सो अवधिमा आयात बढेसँगै रु एक अर्ब २९ करोड बढी राजस्वसमेत सङ्कलन भएको छ । “यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भन्नुभयो ।

    गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो । चालु आवको दुई महिनामा रु छ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ ।

    गत आवको सोही अवधिमा भने रु छ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो । त्यस्तै चालु आवको दुई महिनामा रु पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा रु ९६ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा रु एक अर्ब राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend