Logo

बुधवार, कार्तिक १२ गते २०८३

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

  • समाचार
  • भाद्र ९, २०८० शनिवार ०८:५८ बजे
  • 487
    SHARES
  • सिन्धुपाल्चोक ।  अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।

    शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपी बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । मेलम्ची–भोताङ सडकखण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडकखण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची वडा नम्बर १० का वडाध्यक्ष अमृत खनालले जानकारी दिए । मेलम्ची–तालामाराङ अन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ । 

     

    मेलम्ची–४ स्थित पिप्ले–पाटी भञ्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ । 

    पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो जाने क्रम बढी रहेको छ ।sin.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend