Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित

इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित

  • समाचार
  • आश्विन २८, २०८२ मंगलवार १३:१४ बजे
  • 397
    SHARES
  • इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित

    सिरहा, २८ असोज : यहाँको लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको राहदानी सेवा पुनः नियमित गरेको छ । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुनः जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो ।

    “अब नियमित रूपमा राहदानी सेवा दिन थालिएको छ”, उहाँले भन्नुभयो, “राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिङ्क रहेको इन्ट्रानेट जडान भएपछि सेवा पुनः सुरु भएको हो ।” तर सोमबार ‘वेब साइट’मा प्राविधिक समस्या देखिएकाले सो दिन पूर्ण सेवा दिन नसकिएको जनाउँदै उहाँले आजबाट भने पूर्ण रूपमा सेवा सुरु हुने जानकारी दिनुभयो ।

    प्रमुख खनालका अनुसार अहिले शाखाबाट दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ । सेवा सञ्चालनसँगै अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य सुरु भएको छ । “यदि सेवाग्राहीले अनलाइन फर्ममा दिएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मिल्यो भने सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइनेछ”, उहाँले जानकारी दिनुभयो ।

    जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि भने इलाकाले असोज ५ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिसकेको थियो । कार्यालयका शाखा अधिकृत सन्तोष रायका अनुसार अहिले दैनिक करिब ७० जनासम्मको विवरण दर्ता गर्नेगरी सेवा प्रवाह भइरहेको छ, जुन आन्दोलनअघि करिब डेढ सय जनासम्म पुग्ने गरेको थियो ।

    उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब रु १५ लाखबराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाको १२, १३, १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं वडासहित लहान नगरपालिकाको १ देखि २४ नं वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend