Logo

शनिवार, कार्तिक १५ गते २०८३

राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

  • समाचार
  • कार्तिक १९, २०८२ मंगलवार १४:२८ बजे
  • 769
    SHARES
  • राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    लिस्बन (पोर्चुगल), १८ कात्तिकः विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार शिविरबाट १८ हजार ५१५ युरो अर्थात् ३० लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरुप पहिलोपटक सञ्चालन गरिएको शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको उहाँले बताउनुभयो ।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो भने प्रहरी ‘रिपोर्ट’लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ । शिविरमा दूतावासका प्रथम सचिव नेपाल, तृतीय सचिव अनिल राना र स्थानीय कर्मचारीको टोली खटिएको थियो ।

    राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend