Logo

शनिवार, कार्तिक १५ गते २०८३

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

  • समाचार
  • पौष १, २०८२ मंगलवार ०७:४५ बजे
  • 283
    SHARES
  • शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

    कञ्चनपुर, १ पुसः शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो ।

    शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ । “सोमबार बिहानदेखि बहुलाहा कुकुर अनियन्त्रित रूपमा सामुन्नेमा पर्ने जोकसैलाई टोक्दै हिँडेको थियो”, उहाँले भन्नुभयो, “प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज साँझ अबेर नियन्त्रणमा लिन सफल भयौँ ।”

    बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेविज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताउनुभयो । “कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “टोकिने गाईलाई पनि रेविजविरुद्धको सुई लगाइएको छ ।”

    बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि वडा कार्यालयबाट टोली परिचालन गरिएको छ । तर ती कुकुर फेला पार्न कठिनाइ भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । “रेविजविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “आज बिहानैदेखि वडा कार्यालयमार्फत कुकुरलाई रेविजको सुई लगाइनेछ ।”

    स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरले अन्य कुकुर, पशुचौपाया तथा मानिसलाई टोक्ने जोखिम रहेकाले भयको अवस्था सिर्जना भएको बताएका छन् । बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखिएको नगर प्रहरी प्रमुख पदमबहादुर ऐरले बताउनुभयो ।

    यसैबीच, वडा कार्यालयले बहुलाहा कुकुरले टोकेको शङ्का भएका कुकुर, गाईबस्तु तथा व्यक्तिका परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend