Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति

शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति

  • समाचार
  • पौष २०, २०८२ आइतवार १८:०८ बजे
  • 706
    SHARES
  • शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति

    कञ्चनपुर, २० पुसः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ । जङ्गली हात्तीले बस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो ।

    घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उहाँले जानकारी दिनुभयो ।

    प्रहरी नायब उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ । घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उहाँले बताउनुभयो ।

    त्यस्तै, सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्‍याएको छ । त्यसैगरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

    स्थानीयवासीले जङ्गली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend