Logo

बुधवार, कार्तिक १२ गते २०८३

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

  • समाचार
  • चैत्र २९, २०८२ आइतवार १७:४१ बजे
  • 256
    SHARES
  • बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    दशरथचन्द (बैतडी), २९ चैतः बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो ।

    आज बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामान बरामद गरिएको हो ।

    सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो । “केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ”, उहाँले भन्नुभयो, “सोहीअनुसार जिल्लाबाट खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो ।”

    भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरीको टोली देख्नेबित्तिकै भागेका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend