Logo

बुधवार, कार्तिक १२ गते २०८३

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

  • समाचार
  • बैशाख ४, २०८३ शुक्रवार १६:०१ बजे
  • 547
    SHARES
  • फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

    पाँचथर, ४ वैशाखः पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि आज शिला स्थापना तथा निर्माण सुभारम्भ भएको छ ।

    लिम्बूवान गेट तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् पाँचथरले प्रवेशद्वार पुनर्निर्माण गर्न लागेको हो । रु २५ लाखको लागतमा प्रवेशद्वार निर्माण गर्ने योजना बनाइ आजदेखि सुरुआत गरिएको परिषद्का अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिनुभयो । शिला स्थापना तथा निर्माणकार्यको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरूले शिला पूजा गरी सुरुआत गर्नुभयो । पाँच मिटर उचाइ र १९ मिटर लम्बाइको उक्त प्रवेशद्वारमा यहाँका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाबारे जानकारी दिने प्रतीकहरूसमेत राखिने भएको छ ।

    प्रवेशद्वार दाताहरूबाट सङ्कलन हुने रकमबाट निर्माण गर्न लागिएको हो । यसका लागि परिषद्ले सहयोग सङ्कलन गर्ने भएको छ । फिदिमको मध्यभागमा यसअघि लिम्बूवान गेट रहेकै स्थानमा प्रवेशद्वार निर्माण हुन लागेको हो । यसका लागि सडक क्षेत्राधिकारभन्दा बाहिरको जग्गा जग्गाधनीहरू रविन तुम्बापो, महेन्द्र आङ्देम्बे र गङ्गाकुमारी आङ्देम्बेले उपलब्ध गराएको अध्यक्ष लावतीले जानकारी दिनुभयो ।

    पञ्चायती व्यवस्था लागू भएको २५औँ वर्षगाँठको अवसरमा २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको स्वागतका लागि फिदिम बजारको प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गरिएको थियो । तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको अस्थायी प्रवेशद्वारलाई पछि पक्की बनाई श्रीपेचको प्रतिमा राखिएको थियो । सो समय फिदिम बजारको सुरु विन्दुमा प्रवेशद्वार निर्माण गरिए पनि बजार विस्तारसँगै प्रवेशद्वार बीच बजारमा रहन गएको फिदिमका अग्रज गङ्गाराम भट्टराईले जानकारी दिनुभयो ।

    दोस्रो जनआन्दोलनपछि लोकतन्त्र पक्षधरले प्रवेशद्वारबाट श्रीपेचको प्रतिमा निकालेर फालेका थिए । यसैबेला पूर्वी नेपालमा चलिरहेको लिम्बूवान स्वयत्तताको आन्दोलनका पक्षधरले आन्दोलनको केन्द्रका रूपमा रहेको पाँचथरमा उक्त प्रवेशद्वारमा रङरोगन गरी ‘लिम्बूवान गेट’ नामकरण गरेका थिए । उक्त प्रवेशद्वारमा लिम्बू समुदायको सांस्कृतिक प्रतीक सिलामसाक्मा, ढोल (च्याब्रङ), प्रस्तावित लिम्बूवान क्षेत्रको नक्सा राखिएको थियो ।

    तर मेची राजमार्गको फिदिम बजार खण्ड विस्तारका क्रममा तीन वर्षअघि उक्त प्रवेशद्वार भत्काइएको थियो । विस्तारित सडकभन्दा बाहिरपट्टिको व्यक्तिहरूको जग्गा प्राप्तिमा ढिलाइ हुँदा पुनर्निर्माणको कार्यमा ढिलाइ भएको र अब आवश्यक पर्ने सहयोग स्थानीय तहले मिलाउने फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले वताउनुभयो ।

    उक्त प्रवेशद्वार लिम्बूवान गेटका रूपमा प्रचार हुनुका साथै लिम्बूवान पक्षधरका लागि पहिचानको संवेदनशील विषयका रूपमा विकसित भएको अध्येता एवं पुनर्निर्माण समितिका अध्यक्ष लावतीको बुझाइ छ । “प्रवेशद्वारलाई लिम्बूवान गेटकै रूपमा पुनर्निर्माण गरिने छ । यसले पहिचानको आवाजलाई प्रतिनिधित्व गर्ने छ”, लावतीले भन्नुभयो, “यसले नवआगन्तुक पर्यटकलाई आकर्षितसमेत गर्छ भने लिम्बूवान क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे खोजी गर्न सबैलाई प्रेरित गर्छ ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend