Logo

बुधवार, कार्तिक १२ गते २०८३

जुम्लामा चालु आवको नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च

जुम्लामा चालु आवको नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च

  • समाचार
  • बैशाख ५, २०८३ शनिवार २०:४५ बजे
  • 268
    SHARES
  • जुम्लामा चालु आवको नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च

    जुम्ला, ५ वैशाखः जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा कुल बजेटको पुँजीगत खर्च २९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको छ ।

    चालु आवका लागि सङ्घीय सरकारबाट जिल्लामा पुँजीगत बजेट रु एक अर्ब ९४ करोड १९ लाख १० हजार विनियोजित भएकामध्ये साउनदेखि चैतसम्म ५६ करोड ८५ लाख १९ हजार अर्थात् २९ दशमलव २८ प्रतिशत विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो ।

    चालु आवका लागि यहाँका आठ स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकार मातहतका कार्यालयका लागि चालु र पुँजीगत गरी रु सात अर्ब ३१ करोड ५२ लाख २९ हजार बजेट विनियोजित भएको छ । कुल बजेटको चालु आवको चैत मसान्तसम्म चालुतर्फ रु तीन अर्ब ५३ करोड ९२ लाख ५४ हजार अर्थात् ६५ दशमलव ८७ प्रतिशत खर्च भएको कोष नियन्त्रक अछामीको भनाइ छ ।

    कुल बजेटको चालु र पुँजीगत गरी चालु आवको नौ महिनामा रु चार अर्ब १० करोड ७७ लाख ७३ हजार, अर्थात् ५६ दशमलव १५ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक अछामीले बताउनुभयो ।

    सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी पुँजीगततर्फ सघन सहरी तथा भवन आयोजना जुम्लालाई रु ८० करोड ९५ लाख ४७ हजार विनियोजित बजेटमध्ये चालु आवको चैतसम्म रु १९ करोड ६८ लाख पाँच हजार अर्थात् २३ दशमलव ५५ प्रतिशत मात्र खर्च भएको छ ।

    यसैगरी, सडक डिभिजन कार्यालय जुम्लाका लागि पुँजीगततर्फ रु ७४ करोड ३६ लाख १९ हजार विनियोजित बजेटमध्ये सोही अवधिमा रु १८ करोड ३८ लाख ९४ हजार अर्थात् २४ दशमलव ७३ प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।

    गत आव २०८१/८२ मा जुम्लामा पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजित रकममध्ये रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । यहाँका दुई वटा ठूला विकासे कार्यालय सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजना जुम्लाको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ ।

    सडक डिभिजन कार्यालयको कार्य क्षेत्र जुम्लालगायत कालीकाट र मुगु रहेको छ । सघन सहरी तथा भवन आयोजना जुम्लाबाट माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्ला हेर्ने गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend