Logo

मंगलवार, कार्तिक ११ गते २०८३

विशेष महाधिवेशन अवैधानिक छ, सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का

विशेष महाधिवेशन अवैधानिक छ, सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का

  • समाचार
  • श्रावण २९, २०८३ शुक्रवार १९:४७ बजे
  • 334
    SHARES
  • विशेष महाधिवेशन अवैधानिक छ, सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिकको संज्ञा दिँदै अहिले पार्टी मुख्यालय सानेपामा नाटक मञ्चन भइरहेको आरोप लगाएका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै खड्काले गगन थापा नेतृत्वको वर्तमान समितिलाई प्रहार गरेका हुन् ।

    नेता खड्काले निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै पार्टीको आधिकारिक हस्ताक्षर परिवर्तन गरिएकोमा आपत्ति जनाए ।

    ‘निर्वाचन आयोगले पार्टीको आधिकारिक हस्ताक्षरमा शेरबहादुर देउवाको हस्ताक्षर हटाएर गगन थापाको हस्ताक्षर राखेको छ, यो अवैधानिक विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको निर्णयका आधारमा गरिएको हो,’ उनले भने । यो कदम पार्टी विधान र नियमावली विपरीत रहेको उनको दाबी छ।

    खड्काले गगन थापा सभापति बनेपछिको चुनावी परिणामप्रति कटाक्ष गर्दै भने, ‘अवैधानिक तरिकाबाट भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्नुभयो। उहाँ निर्वाचनका बेला सर्लाही पुगेर पराजित हुनुभयो, जसका कारण पार्टीले अप्रत्याशित हार बेहोर्नुपर्‍यो।’

    उनले पार्टीलाई एकताबद्ध बनाउन गरिएका धेरै प्रयासहरू सार्थक हुन नसकेकोमा दुःख व्यक्त गरे । सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खड्काले भने, ‘अदालतले पार्टी विधान विपरीत फैसला गरे पनि हामीले मान्छौँ भन्यौँ। तर अहिले सानेपामा नाटक मञ्चन भइरहेको छ।’ उनले वर्तमान नेतृत्वले सरकारका असंवैधानिक कदमहरूका विरुद्ध बोल्न नसकेको आरोप समेत लगाए ।

    पार्टीको नियमित महाधिवेशनका सम्बन्धमा खड्काले स्पष्ट पार्दै भने, ‘कांग्रेसले २०८४ जेठ मसान्तभित्र वैधानिक रूपमा महाधिवेशन गर्न सक्छ। तर अवैधानिक विशेष महाधिवेशनबाट आएका पदाधिकारीहरू महाधिवेशनका विषयमा झुट बोलिरहेका छन्।’

    मुलुक र पार्टीभित्र देखिएको सङ्कट टार्न यो राष्ट्रिय भेलाले एउटा ठोस सङ्कल्प पारित गर्ने उनले बताए । ‘यो भेलाले सानेपामा रहेका पदाधिकारीहरूलाई सच्चिनका लागि कडा दबाब दिनेछ भन्ने मेरो विश्वास छ,’ खड्काले भने ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend