विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ ।सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् ।
‘सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको प्लाटिनम जुब्लीलाई सफल बनाउन विदेशी पाहुना बोलाउनेलगायतका तयारी गरिएको छ र ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ ।
एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ ।
पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् र नेपालमा हाल पाँच हजार आठ सय मिटरभन्दा अग्ला चार सय तीन हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।
श्रोत, रासस